ओखलढुंगाका सबै पालिकामा प्रशासकीय भवन निर्माण : पूर्वसांसद रामहरि खतिवडा

ओखलढुंगाका सबै पालिकामा प्रशासकीय भवन निर्माण : पूर्वसांसद रामहरि खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद रामहरि खतिवडाले आफ्नै कार्यकालमा ओखलढुंगाका सबै स्थानीय तहमा प्रशासकीय भवन निर्माणको आधार तयार भएको बताएका छन्। उनले विशेष पहल, निरन्तर प्रयास र प्रभावकारी समन्वयका कारण विभिन्न पालिकामा आवश्यक स्रोत सुनिश्चित भएको उल्लेख गरेका छन्।

आफैं सहरी विकास मन्त्रालय पुगेर चम्पादेवी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ८ करोड स्रोत सुनिश्चितता गरेको बताउँदै खतिवडाले भने, ‘शुरुदेखिनै मेरो पहल र समन्वयका कारण चम्पादेवी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि आवश्यक श्रोत सुनिश्चित भएको जानकारी गराउँछु।’

उनका अनुसार प्रशासकीय भवन निर्माणले स्थानीय तहको सेवा–सुविधा अझ सहज, व्यवस्थित र जनमुखी बन्ने विश्वास गरिएको छ। ‘पूर्वाधार विकासले स्थानीय शासनलाई बलियो बनाउँछ। ओखलढुंगाका सबै पालिकामा प्रशासकीय भवनको काम अघि बढ्नु मेरो कार्यकालको महत्वपूर्ण उपलब्धि हो,’ खतिवडाले बताए।

ओखलढुंगा जिल्लाका स्थानीय तहहरूमा पछिल्ला वर्षमा प्रशासकीय भवन, कार्यालय–पूर्वाधार तथा ग्रामीण विकाससँग सम्बन्धित परियोजनाहरूमा उल्लेखनीय प्रगति भएको जनप्रतिनिधिहरू बताउँदै आएका छन्। चिसंखुगढी, लिखु र चम्पादेवी गाउँपािलकामा प्रशासकीय भवन निर्माण हुन बाँकी रहेको छ ।

स्थानीयवासीले पनि प्रशासकीय भवन निर्माणले सेवाग्राहीलाई सहजता बढ्ने र विकास कार्यमा गति आउने अपेक्षा व्यक्त गरेका छन्।