संसद् पुनर्स्थापना गरेर सर्वदलीय सरकार र संविधान संशोधन गर्न ओलीको प्रस्ताव

संसद् पुनर्स्थापना गरेर सर्वदलीय सरकार र संविधान संशोधन गर्न ओलीको प्रस्ताव

‘दुर्गा प्रसाईंले निकालेको क्यासेटको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’का माग पूरा गर्न संसद् पुनर्स्थापना गरी संविधान संशोधनको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सभामा उनले प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र उचित राजनीतिक निकास भएको जिकिर गरे ।

‘संसद्को पुनर्स्थापना गर्ने । त्यसबाट सर्वदलीय/सर्वपक्षीय सरकार बनाउँला,’ ओलीले भने, ‘संसद्बाट संविधान संशोधन हुनसक्छ । जेनजीका जुन मागको दुहाई दिइन्छ, जेनजीका माग पनि संसद् पुनर्स्थापनाबाट पूरा गर्ने बाटो निस्किन्छ । लोकतन्त्र पुनर्स्थापना गरौँ । संविधानलाई बाटोमा हिँडाऊँ । शान्ति स्थापना गरौँ ।’

उनले भावनामा नबग्न, प्रतिशोध नराख्न दलहरूलाई आग्रह गरे । “यो असंवैधानिक सरकारका पछिपछि जन्तीजस्तो भएर, जन्तीले पाउने के हो ? एक छाक भात खाएर फर्किने होला,’ ओलीले भने, ‘राजनीतिक पार्टीको काँधमा देशप्रतिको उत्तरदायित्व छ । यस्तो सरकारको जन्ती हुन सुहाउँदैन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीले नेताहरुविरुद्ध बोलेको सुनिने क्यासेटबारे जवाफ माग गरेका छन् । उनले ‘कस्तो कस्तो मान्छेलाई विगतमा प्रधानन्यायाधीश र अहिले प्रधानमन्त्री बनेछन्’ भन्दै आक्रोश पोखे ।

‘दुर्गा प्रसाईंको अरू के हो म जान्दिनँ । उनले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीले त्यो क्यासेट के हो बताउनुपर्छ ?’

जेनजी आन्दोलनकै बेला हेलिकप्टर उडेको देखिएकै बेला उक्त क्यासेटमा प्रधानमन्त्री कार्कीको गैरजिम्मेवार अभिव्यक्ति सुनिएको उनको भनाइ छ ।

उनले भने, ‘सेनाले नेताहरूलाई बचायो भन्दा किन बचाउने भन्ने पूर्वप्रधानन्यायाधीश र अहिले असंवैधानिक प्रधानमन्त्रीको आवाज सुनिन्छ, त्यो के हो ?’ त्यो क्यासेट बाहिर ल्याएकै कारण प्रसाईंलाई पक्राउ गरिएको ओलीको आरोप छ । ‘मान्छे गिरफतार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनुपर्छ’, ओलीको भनाइ थियो ।

उनले यो सरकारलाई जनताले नछानेको भएकाले हट्न तयार रहन चुनौती दिए । उनले प्रधानमन्त्रीलाई भने, ‘तपाईँ को हो चुनाव गराउने ? तपाईँसँग चुनाव गराउने कुनै अधिकार छैन । तपाईँहरू सरकारबाट हट्नुपर्छ यो लोकतन्त्र हाे ।’

उनले सरकारले चुनावको नाममा तमासा देखाएको आरोप लगाए ।