व्यक्ति मात्रै बनेर देश नबन्ने रहेछ: सन्तोष परियार

व्यक्ति मात्रै बनेर देश नबन्ने रहेछ: सन्तोष परियार



काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले व्यक्ति मात्रै बनेर देश नबन्ने बताएका छन् । आज पार्टी एकता समारोहलाई सम्बोधन गर्दै उनले बनेका देशहरू सामूहिक प्रयास र सामुदायिक प्रयासले सम्भव भएको तर्क गरे ।

परियारले नेपालका राष्ट्रिय शक्तिहरू व्यक्तिवादी चिन्तनबाट हावी भएको भन्दै सामूहिक रूपमा असफल भएको बताए ।

‘लामो समयदेखि बहुदलीय प्रजातन्त्र र गणतन्त्रका लागि सङ्घर्ष गर्‍यौँ । हामीसँग अहिले चारवटा संकट छ । पहिलो राष्ट्रियताको संकट छ । जेनजी विद्रोहपछि राष्ट्रियता ठुलो संकट देखिन्छ । दोस्रो लोकतन्त्रमाथि संकट छ । संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा छ । अर्को संविधानमाथि पनि धेरै संकट छ । मुर्झाएको छ । यसको संरक्षण गर्नु आवश्यक छ । चौथो आर्थिक संकट गहिरिएको छ । संकटपूर्ण घडीमा हामीले सामूहिक बुद्धिमत्ता अपनाएनौँ भने यो देश थप संकटमा पर्न सक्छ’, उनले भने ।

परियारले भने, ‘नागरिक र सरकारबीच उत्पन्न अविश्वासलाई विश्वासमा परिणत गर्नु छ । राज्यको गुमेको साख फर्काउनु छ ।’

राष्ट्रिय संकट समाधानका लागि नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियानसहित एकता भएर लोकतान्त्रिक पार्टी घोषणा गर्न लागिएको परियाले जिकिर गरे । संकटको घडीमा सबै वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा आउन उनले आग्रह गरे ।

परियारले केही समयअघि रास्वपा परित्याग गरेका थिए ।