काठमाडौं । ओखलढुंगामा महत्वपूर्ण सडक निर्माण आयोजना अघि बढाउने तयारी तीव्र भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेख्दै बहुर्षिय ‘साँघुटार–ओखलढुंगा–कुइभिर’ सडक आयोजना अन्तर्गत घोराखरी-ओखलढुंगा सडक निर्माण तथा स्तारोउन्नतिको लागि ५० करोड रकम बराबरको स्रोत सहमति माग गरेको छ ।
गत कार्तिक २१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरिय निर्णयबाट अर्थमन्त्रालयमा स्रोत सहमति माग गरिएको छ ।पत्रमा उल्लेख भएअनुसार, चालु आर्थिक वर्ष २०८२/०८३ मा उक्त बहुर्षिय आयोजनाका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ ।
यस आयोजनामा ओखलढुंगाका निवर्तमान सांसद रामहरि खतिवडाको निरन्तर पहल र दबाबका कारण बजेट व्यवस्थापन र स्रोत सुनिश्चित गर्ने प्रक्रिया अघि बढ्ने भएको बुझिएको छ। स्थानीय स्तरमा लामो समयदेखि माग हुँदै आएको यो सडक निर्माणका लागि निवर्तमान सांसद खतिवडाले मन्त्रालयसँग निरन्तर समन्वय गर्दै ५० करोड स्रोत व्यवस्थापन गराएको बुझिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहुर्षिय ‘साँघुटार–ओखलढुंगा–कुइभिर’ सडक आयोजनालाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने पनि पत्रमा उल्लेख गरेको छ ।
स्थानीवासीले यो सडक निर्माणले ओखलढुंगाका ग्रामीण बस्तीहरू आवतजावत गर्न, जिल्ला सदरमुकामसँग जोडिन तथा बजार पहुँचमा ठूलो राहत दिने बताएका छन् ।


प्रतिक्रिया