काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज भएको बताएका छन् ।
काठमाडौंमा आज पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘यो पार्टी भनेको जेन–जी आन्दोलनको उपज हो । र जेन–जी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ। यदि यो कुरा बुझिएन र मैले मेरो आफ्नै बखान गर्ने, अर्कोको अर्को बखान गर्दै हिँडने हो भने हुँदैन ।’
पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरू मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको पनि बताए ।
डा. भट्टराईले कम्युनिस्ट पार्टी अब अगाडि बढ्न नसक्ने बताएका छन् । उनले कम्युनिस्ट पार्टी अगाडि बढ्न नसकेकाले नै आफूले नयाँ वैकल्पिक अभियान सुरु गरेको जिकिर गरे ।
‘हामीले माओवादी छोडेर गएको होइन । माओवादीको कार्यभार पुरा गरेको हो । २००७ सालदेखि २०७२ साल सम्मको कार्यभार पुरा भएको हो । अब पार्टी र दल मात्र होइन राजनीतिकै पुनर्संरचना गर्नुपर्नेछ । यो पार्टीको योजना जेनजी पुस्ताको चेतनासँग सहकार्य गर्दै युवाले नेतृत्व गर्नुपर्छ । युवाले पनि काम गर्न सकेन भने पुरानै पार्टीतर्फ ढल्किने खतरा हुन्छ । दुई चार सिट जित्नका लागि हामीले नयाँ दोकान थाप्न खोजेका होइनौँ’, उनले भने ।
भट्टराईले कम्युनिस्ट पार्टीमा चोरी खाने ठग प्रवृत्ति हाबी भएको आरोप लगाए । एकातिर कम्युनिस्टले समाजवादको भ्रम छरेर ठग्ने काम गरेको उनले बताए ।
उनले भने– ‘कम्युनिस्ट प्रवृत्ति अब चल्दैन । कम्युनिस्ट भन्ने कमाउनिस्ट साथीहरूले चोरी गरेर समाजवादी भनेर व्याख्या गर्न थाले । अर्को पुँजीवादी धारको नेतृत्व जसले उदारवादी धार भनेको छ । त्यसको नेतृत्व कांग्रेस र अहिले मध्यपन्थी धारले गरेका छन् । यी दुवैको विकल्प हामीले प्रगतिशील लोकतान्त्रिक पार्टीलाई अगाडि बढाएका हौँ । प्रगतिशील भनेको गुदी कुरा हो ।’
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकताबाट ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ निर्माण गरिएको हाे । पार्टीको चुनाव चिह्वन आँखा प्रस्ताव गरिएको छ ।
नेता भट्टराई पार्टीको अभिभावकीय भूमिकामा रहने भएका छन् । पार्टीमा १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ । दुर्गा सोवकाे नेतृत्वमा पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।


प्रतिक्रिया