काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले संकटका बेला आफू मन्त्री बनेको बताएका छन् ।
राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले बुधबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन’को उद्घाटनसत्रमा बोल्दै मन्त्री घिसिङले जेनजी आन्दोलनपछि संकटका बेला आफू मन्त्री बनेकाे र त्यो चुनौतीलाई अवसरमा बदल्ने बताए ।
राजनीतिक र व्यवस्था परिवर्तन गर्न पुराना राजनीतिक दल र नेता सफल भए पनि परिवर्तनपश्चात् समृद्धिको नेतृत्व गर्न चुकेको उनको भनाइ थियो ।
साथै, जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकार केन्द्रित रहेको पनि उनले बताए ।
सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भइसकेकाले तोकिएको समयमा नै निर्वाचन हुने उनको भनाइ थियो ।
मन्त्री घिसिङले लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको भन्दै छोटो समयमा नै जनतामा आशा जगाउनुपर्ने उल्लेख गरे ।


प्रतिक्रिया