काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।
शुक्रबार बनस्थलीस्थित पार्टी कार्यालयमा हुने कार्यक्रममा पोखरेलले पार्टीमा प्रवेश गर्न लागेकाे रास्वपाका एक नेताले जानकारी दिए । उनलाई अनुशासन आयोगमा जिम्मेवारी दिने गरी पार्टीमा भित्र्याउन लागिएको बताइएकाे छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४, रुम्जाटारमा जन्मिएका पोखरेल रास्वपा प्रवेशपछि आगामी निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार बन्न सक्ने अनुमान पनि गरिएको छ ।
नेपाल प्रहरीको आइजीपीका निर्विकल्प दाबेदार भएका बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिना जुनियर धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थियो ।
धिरजप्रताप सिंहले आइजीपी बन्न २० करोडभन्दा बढी रकम लगानी गरेको आरोप समेत लागेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा डीआइजीबाट एकल एआइजी बढुवा भएका पोखरेल आइजीपी नियुक्तिमा अन्यायमा परेको भन्दै सर्वोच्च अदालत गएका थिए । तर अदालतबाट उनको पक्षमा आदेश नआएपछि राजीनामा दिएका थिए ।
उनले आइजीपी बन्न आफूसँग त्यसबेला आरजु देउवाको तर्फबाट केही मानिसले रकमको बार्गेनिङ गरेको समेत बताएका छन् ।


प्रतिक्रिया