काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभइ पतन ०८४ आउँछ भनेर आफूले भनेको बताएका छन् ।
शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा रावलले यस्तो बताएका हुन् । ‘मैले त्यही बेलामा भनेको थिएँ, मिसन ०८४ होइन पतन ०८४ आउँदैछ भनेको थिएँ,’ रावलले भने, ‘आज केपी ओलीजी खरानी धसेर जनतालाई तर्साउन खोज्दै हुनुहुन्छ ।’
उनले अब सुदूरपश्चिमका जनता राष्ट्रिय स्वाधिनताको झण्डा बोकेर उत्रने पनि विश्वास व्यक्त गरे ।
‘आउने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी जनताको ताजा जनादेश लिन तयार छ । विगतका कुनै पनि गल्ती त्रुटिलाई दोहोरिन नदिइ निर्वाचन सम्पन्न गराउन तयार छ,’ उनले भने ।
साथै उनले सुदूरपश्चिमबाटै नेकपा एक नम्बर दल बन्ने दाबी समेत गरे । ‘नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो आयो भन्ने सन्देश अहिलेको सभाले दिएको छ । चुनावमा समेत हामी एकजुट भएर सबै जाती, भाषा, धर्म क्षेत्रका जनता एकजुट हुनेछौं,’ रावलले भने ।
नेता रावलले अन्तरिम सरकारले निर्वाचनको तयारी नगरी दीर्घकालीन प्रकृतिका सम्झौतामा अघि सरेको भन्दै आपत्ति जनाए ।
उनले भने, “यो सरकारले कतिपय असमान सन्धि-सम्झौताहरू गर्ने, भारतसँग विद्युत्को महसुल बढी तिर्ने गरी सम्झौता गर्ने जस्ता कुरा हामीले सुनेका छौँ । राष्ट्रिय स्वाधिनताको विरुद्ध भएका सन्धि-सम्झौता सुदूपश्चिमका जनतालाई सह्य छैन ।”
अब निर्वाचन निष्पक्ष भयरहीत बनाउन बाहिर रहेका गोलीगठ्ठा सरकारले नियन्त्रणमा लिनुपर्ने उनको भनाइ छ । ‘जेनजी’ विद्रोहको माग नेपाली कम्युनिस्ट पार्टीले बोक्ने पनि उनको भनाइ थियो ।


प्रतिक्रिया