काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी (अतिरिक्त महानिरीक्षक) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
उनी शुक्रबार पार्टी कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममार्फत पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशपछि बोल्दै उनले सभापति रवि लामिछानेलाई फसाइएको बताए । उनले भने, ‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न डराउँदिनँ । मैले रास्वपाका अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।’
पार्टीका सभापति लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको उनले बताए । रास्वपालाई देशको नेतृत्व गर्ने पार्टी बनाउनुपर्नेमा जनताले विचार गर्नुपर्ने उनको भनाइ छ ।
उनले आफूले प्रहरी सेवामा रहँदा आर्जन गरेको अनुभव लागु गर्ने बताए ।
२४ भदौको जेनजी आन्दोलनमा मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू दुलोभित्र पसिरहेका बेला रास्वपाका सभापति रवि लामिछानेलाई भने जनताले काँधमा बोकेर बाहिर ल्याएको उनले बताए ।


प्रतिक्रिया