काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को बृहत् एकता घोषणा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार संघको एकता घोषणा गरिएको हो ।
विभाजित संघमा अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । १० औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो ।
१०औँ र ११औँ महाधिवेशनमा निर्वाचित भएका दुवैतिरका समितिलाई मान्यता दिने, १२औँ महाविधेशन गर्नको लागि अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायतका सहमति भएको छ ।
एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सङ्कटका बेला एनआरएनएले गरेको सहयोगप्रति धन्यवाद दिँदै यस्तो बताएकी हुन् । ‘यहाँहरूको बलियो उपस्थिति भयो । एक हुनुभयो’, उनले भनिन्, ‘तपाईँहरू आफ्नै परिवारको सदस्य हो ।’
एनआरएनएहरू विदेशमा बसेपनि यहाँको राजनीति र राजनीतिक पार्टीबारे जानकार रहेको भन्दै प्रधानमन्त्री कार्कीले पदकै लागि पार्टीहरूमा छिनाझपटी आपसमा चलिरहेको बताएकी हुन् ।
‘कमसेकम तपाईँहरू मिलेजस्तो दलमा पनि मेलमिलाप चाहिएको छ’, उनले भनिन्, ‘दल दलबिचमा पनि मेलमिलाप र दलभित्र पनि मेलमिलापको आवश्यकता छ ।’
उनले नेता नेता फुटेको र चिरा परेजस्तो देखिएको भन्दै दलहरूबिच पानी बराबरको जस्तो अवस्थाले मुलुक नचल्ने बताइन् । उनले एनआरएको एकताबाट दलहरूले पनि सिक्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले एनआरएनएबारे नागरिकताको चासो रहेकोबारे सकेसम्म आफूले प्रयास गर्ने आश्वासन दिइन् ।


प्रतिक्रिया