काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा बागमती प्रदेशका बहालवाला श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा र कोशी प्रदेशका २ सांसद पराजित भएका छन् ।
थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट खुल्लातर्फ उमेदवार बनेका थिए । खुलाबाट दुईजना निर्वाचित हुनुपर्नेमा उनी तेस्रो भएका हुन् । उनले कुल २०१ मत पाए ।
खुलामा श्रीकृष्ण श्रेष्ठले २४१ र उद्धव खरेलले २१२ मत ल्याएर निर्वाचित भए । खरेल बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयरसमेत हुन् । पराजित थापा पार्टी अध्यक्ष केपी ओली पक्षीय हुन् ।
त्यसैगरी सुनसरी क्षेत्र नं १ बाट कोशी प्रदेश सभाका सांसद पराजित भएका हुन् । कोशी प्रदेश सांसद रहेका रमेशकुमार बस्नेत र विजयकुमार राई पराजित भए । उनीहरु संस्थापन पक्षबाट उम्मेदवार थिए ।
प्रदेश सांसद बस्नेतले ३७६ र राईले ३९१ मत पाएका छन् । खुल्लातर्फ आसाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निवार्चित भएका छन् । सुवेदीले ७९६, राईले ७७६ र चौधरीले ६७४ मत प्राप्त गरेका छन् ।
महिलातर्फ २ जनाको कोटामा सीता भण्डारी पौडेल ७६६ मत र सुशीला पहाडी ढकाल ७१५ मतसहित निवार्चित भएका छन् ।
युवातर्फ दिवस वान्तवा राई ८८६ मतले निवार्चित भएका छन् । युवातर्फ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल र पूर्वमुख्यमन्त्री भीम आचार्यका स्वकीयसचिव अनिल राजधामी पनि उम्मेदवार थिए ।
एमाले धरान नगर कमिटी स्रोतका अनुसार निर्वाचितमध्ये मुरारी सुवेदीबाहेक अन्य इतर पक्षका हुन् ।


प्रतिक्रिया