काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । आज काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।
रवि लामिछाने सभापति रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच एकता गर्ने केही दिनअघि सहमति भएको थियो ।
नाम र चुनाव चिह्न रास्वपाकै रहने गरी विवेकशील साझा एकताका लागि तयार भएको थियो ।
विवेकशील साझाले केन्द्रीय समिति बैठकबाटै पार्टी एकता प्रस्ताव अनुमोदन गरेको थियो । त्यसअघि दुवै पार्टीले कार्यदल नै बनाएर एकता प्रक्रियाका लागि छलफल गरेका थिए ।
असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकारी राजनीतिक शक्तिहरूसँग मुद्दागत र सांगठनिक सहकार्यका लागि सधैँ कटिबद्ध रहिरहने रास्वपाले जनाएको छ ।


प्रतिक्रिया