सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री

सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री

‘कानुनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य हुँदैन’



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधीकरण गर्न नमिल्ने बताएका छन् । सोमबार (मंसिर १५) नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक साधारणसभामा उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताएका हुन् ।

प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको उनले उल्लेख गरे । कानुनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने उनले चेतावनी दिए ।

उनले भने, ‘सम्पत्ति सिर्जना गर्ने व्यक्तिले व्यक्तिगत तवरले कुनै गल्ती गरेको छ भने उसलाई कारबाही गर्ने कानुनहरू हुन्छन्, कानुनसम्मत ढंगले कुनै पनि व्यक्तिलाई अपराधीकरण गर्ने वा कारबाही गर्ने हो । सडकबाट कसैलाई औँला ठडाएर अपराधीकरण गर्नुचाहिँ कानुनी राज्यमा मिल्दै मिल्दैन ।’

लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए । लगानी गर्नेले कुनै गल्ती गरेको भए कानुनानुसार कारबाही हुने उनको भनाइ थियो ।