पहिलो जितसँगै जनकपुरको प्लेअफ पुग्ने गणितीय सम्भावना कायमै

पहिलो जितसँगै जनकपुरको प्लेअफ पुग्ने गणितीय सम्भावना कायमै



काठमाडौं । ओपनर माज सदाकत र अनिलकुमार साहको अर्धशतकप्रेरित साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित निकालेको छ ।

सदाकत र अनिलले अर्धशतक बनाएपछि जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरको जितमा ओपनर माज सदाकतले सर्वाधिक ६३ रन बनाए । अनिलले ६१ रन जोडे । प्रतियोगिताको दोस्रो संस्करणमा यी दुवै ब्याटरको यो पहिलो अर्धशतक हो ।

अर्का ओपनर आसिफ शेखले १८ बलमा १८ रनको योगदान गरे । सादकतले पहिलो विकेटका निम्ति ५.१ ओभरमा आसिफसँग ४५ रनको साझेदारी गरेका थिए ।

मध्यक्रमका ब्याटर जान निकोल लोफ्टी इटोनले ११ रन बनाए । आदित्य महता १८ र सञ्जय कृष्णमुर्थी पाँच रनमा अविजित रहे ।

चितवनका सोहेल तान्विर र कमलसिंह ऐरीले समान एक विकेट लिए । चितवनले आठ बलर प्रयोग गरे पनि अरूले विकेट लिन सकेनन् ।