काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू १५औं महाधिवेशनमा सभापति पदका लागि उमेदवार घोषणा गरेका छन् । हिमालय टेलिभिजनसँगको अन्तर्वार्ता ‘यक्ष प्रश्न’मा थापाले पार्टी सभापतिको लागि उमेदवारी दिने बताएका हुन् ।
उनले आफू उमेदवार हुनेमा कुनै शंका नरहेको बताए । “म १५औँ महाधिवेशनमा सभापतिको उमेदवार हुँ,” थापाले भनेका छन्, “मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वको जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ ।”
नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन भएमा यसलाई १५औँ महाधिवेशन मानिँदैन । विशेष आवश्यकताको परिपूर्तिका लागि मात्र विशेष महाधिवेशन हुने व्यवस्था कांग्रेस विधानमा छ ।
यसअघि पनि पटक पटक सभापतिको उमेदवार हो वा होइन भनेर प्रश्न आए पनि आफूले मिति नै घोषणा नभएकाले आफ्नो उमेदवारीबारे बोल्ने समय नभएको भन्ने गरेको बताएका थिए ।
“अब १५औँ महाधिवेशनको तिथिमिति आइसकेपछि म सभापतिको उममेदवार हो,” थापाले भने । पूरा अन्तर्वार्ता आज (बुधबार) राति ९ बजे हिमालय टेलिभिजनमा हेर्न सकिन्छ ।


प्रतिक्रिया