काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कांग्रेससहित ६ दलको समर्थनमा यादव आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ (२) मा दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने प्रावधान छ ।
उनलाई कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपाल पार्टी गरी ६ राजनीतिक दलका तर्फबाट जम्मा ७७ जना प्रदेश सभा सदस्यको समर्थन गरेका छन् ।
तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि १७ मंसिरमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।


प्रतिक्रिया