घोषित मितिमै चुनाव सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

घोषित मितिमै चुनाव सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गले चुनाव गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेकी छन् ।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा पूर्वराष्ट्रपति भण्डारीले घोषित मितिमै चुनाव सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सञ्चारमन्त्री खरेलका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराइन् । सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत खरेलले बताए ।

भण्डारीले समयमै चुनाव सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे पनि मन्त्री खरेलको भनाइ छ ।

प्रधानमन्त्री कार्कीसँग भेट्नुअघि पूर्वराष्ट्रपति भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परि खण्डहर भएकाे सिंहदरबारभित्रका संरचनाको अवलोकन गरेकी थिइन् ।