विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा



काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।

१५६ रनको चुनौती पछ्याएको विराटनगर १४ ओभर १ बलमा सबै विकेट गुमाएर ७८ रनमा समेटिएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ५२ बलको सामना गर्दा तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाए ।

त्यसैगरि शेल्डन ज्याक्सन, आरिफ शेखले समान २०–२० रन जोड्दा हरमित सिंहले १४ रन थपे । डा‍‍. इशान पाण्डेले १३ र मुख्तार अहमदले १० रन जोडे ।

विराटनगरका लागि प्रतिश जिसी र मर्चेन्ट डि लेङ्गाले दुईदुई विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले एकएक विकेट हात पारे ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका थिए ।

विराटनगरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । मर्चेन्ट डे लाङ्गेले १५ र बसिर अहमदले १२ रन बनाए ।

सुदूरपश्चिमका स्कट कुगलेइजन, हरमित सिंह र अविनास बोहराले दुईदुई विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एकएक विकेट हात पारे ।

पहिलो क्वालिफायरमा पराजित विराटनगरले एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ । बुधबार एलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्ने छन् ।