काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्धक निर्देशक हितेन्द्रदेव शाक्यले आफू सर्वोच्च अदालतबाट न्याय पाएर पुनः काममा फर्किएको बताएका छन् ।
अदालतको फैसलापछि बुधबार प्राधिकरणमा पुनर्बहालीका लागि पुगेका शाक्यले पद पुनर्बहाली गर्दै उनले यस्तो बताएका हुन् ।
अब आफ्ना कार्यक्रमलाई पहिलाभन्दा पनि अझ बढी जोस र लगनशीलतासहित अघि बढाउने प्रतिबद्धता जनाए ।
‘तीन दशक लामो समय निःश्वार्थ सेवा गरेँ । अब पनि प्राधिकरण र देशको सेवामा लागिरहनेछु । सरकारको नीति निर्देशन अनुसार काम गर्छु,’ उनले भने ।
सरकारको नीति निर्देशनबमोजिम प्राधिकरणको आफ्नो हकहितलाई सर्वोपरी ठानेर अघि बढ्ने बताउँदै अबका साढे तीन वर्ष एउटा निश्चित गोल पूरा गर्नेगरी लाग्ने उल्लेख गरे ।
ऊर्जामन्त्री र आफूले राम्रोसँग विद्युत क्षेत्र बुझेकाले मिलेर काम गर्ने बताए । अहिले पनि ऊर्जामन्त्रीले आफूलाई पूर्ण रूपमा सहयोग गर्ने अपेक्षा गरेको उनको भनाइ थियो ।
‘ऊर्जामन्त्रीज्यू र म दुवै एनईएका क्याडर हौँ । हामीले यो क्षेत्र एकएक हिसाबले बुझेका छौँ । चिलिमेदेखि अनुभवहरू भोगेर आएका छौँ ।’
अब प्राधिकरणले आफ्नै अग्रसरतामा विद्युत आयोजना निर्माण गर्ने समेत उनले बताए।
‘गुणस्तरिय भरपर्दो र निरन्तर विद्युत आपूर्तिका लागि प्राधिकरणको प्रणाली सुधारमा अधिकतम ध्यान दिएर काम अगाडि बढाउँछु । प्राधिकरणकै एमडी भएकाले मेरो घर जल्यो । म पिडामा परेँ । तर त्यो पिडा सम्झिएर बस्दिनँ । अब म काममा अगाडि बढें,’ उनले भने ।


प्रतिक्रिया