झोकमा उम्मेदवारी घोषणा गरेको होइन : ईश्वर पोखरेल

झोकमा उम्मेदवारी घोषणा गरेको होइन : ईश्वर पोखरेल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय पार्टी नेतृत्वको कार्यसम्पादन गर्ने शैली त्रृटीपूर्ण हुँदै गइरहेको औँल्याएका छन् ।

बुधबार पत्रकारहरूसँग अन्तरक्रियामा बोल्दै राष्ट्रिय महाधिवेशन विचार र नेतृत्वबारे फैसला गर्ने थलोको रूपमा लिनुपर्ने बताए ।

उनले भने, ‘महाधिवेशनमा प्यानल बनाउने नबनाउने भन्ने कुरा होइन, उम्मेदवारी दिने कुनै झोँकमा गरेको पनि होइन । हामीले पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी गराएका हो । हाम्रो कुनै अस्वाभाविक ढङ्गले प्रस्तुत भएको होइन, अवधारणाबारे अध्यक्षसँग औपचारिक कुरा गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको हो ।’

उनले पार्टीमा सामूहिक नेतृत्व प्रणालीलाई थप सुदृढ गर्न आवश्यक रहेको बताए । उनले भने, ‘पार्टी विधि र पद्धतिबाट चल्नुपर्छ, सामूहिक नेतृत्वबाट अगाडि बढेन भने पार्टी चल्दैन । यो खतराबाट पार्टीलाई बचाउनुपर्छ भनेर लागेका हौँ । सामूहिक नेतृत्व प्रणाली कमजोर बन्यो भने पार्टी रहँदैन ।’

उनले आफूहरूले पार्टी जीवनको लोकतन्त्रको कुरा उठाएको जिकिर गरे ।

‘जसले गर्दा हाम्रा असल विचार रुटमा पुग्ने कुरामा समस्या पैदा भयो । विचार अनुसार व्यवहारमा लागू गर्ने कुरामा कमजोरी हुन पुग्यो,’ पोखरेलले भने, ‘हाम्रो तथ्यले एउटा पुष्टि गरेको छ, सत्यको घोषणा अर्कै अर्कै हुन थाल्यो । आफूले गल्ती कमजोरी गरिएको हुन्छ, त्यसप्रति रियलाइजेशन हुन सकेन । जनतामा पुग्ने कुरा कमजोर हुँदै गयो ।’