अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाइ गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ ।
सामाजिक सञ्जाल एक्स मार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिँदै यस्तो घोषणा गरेका जनाएको छ ।
घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस् भन्ने शब्दहरूसहित राखिएको थियो, जसले कडा भिसा नियमन राष्ट्रिय सुरक्षा प्रयासहरूको केन्द्रबिन्दु हो भन्ने प्रशासनको तर्कलाई बलियो बनाएको छ ।
भिसा प्रणालीमा भएको कडाइलाई प्रष्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसा मध्ये आठ हजार भन्दा बढी विद्यार्थीहरूको रहेको खुलासा गरेका छन् ।
असुरक्षित गाडी चलाउनु, चोरी र आक्रमण जस्ता अपराधहरूका कारणहरू पहिचान गरी गत वर्ष अधिकांश भिसा रद्द गरेको अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
विभागको विगतका स्पष्टीकरणहरूमा भिसा म्याद सकिने र आतंकवादलाई समर्थन लगायतका कारणहरूले भिसा रद्द गरिएको जनाइएको छ ।
गाजा द्वन्द्वसँग सम्बन्धित विरोध प्रदर्शनमा भाग लिने अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि त्यस्तै गरी कडा छानबिनमा परेको जनाइएको छ ।
यो कार्यले गत अगस्तमा उल्लिखित विभागको योजना अनुरूप भएको र वैध अमेरिकी भिसा भएका पाँच करोड पचास लाख भन्दा बढी विदेशीहरूका लागि निरन्तर जाँच प्रणाली लागू गर्न र देशमा बस्ने व्यक्तिहरूलाई निगरानी गर्ने उद्देश्यलाई कार्यान्वयन गरेको जनाइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा, विदेश विभागले भिसा आवेदनहरूको समीक्षा र भिसा भएकाहरूको अनुगमनका लागि आफ्नो मापदण्ड विस्तार गरेको छ ।
प्रशासनले एच–१बी आवेदकहरूको जाँच पनि बढाएको छ, जुन विशेष विदेशी प्रतिभा खोज्ने अमेरिकी रोजगारदाताहरूका लागि एक प्रमुख कार्यक्रम हो ।
विस्तारित भिसा रद्द, तीव्र जाँच र फराकिलो छानबिनले आप्रवासन नियन्त्रणलाई कडा बनाइ आप्रवासीहरू बिचमा भएको उल्लंघनलाई थप चुस्त दुरुस्त बनाउने प्रशासनको व्यापक दबाबलाई चित्रण गर्दछ ।


प्रतिक्रिया