दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै इतिहास रचेका छन् ।
सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५–० अंकले, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई ५-० अंकले र राउन्ड ८ (क्वार्टर फाइनल) मा इरानका काजेमी मेहदीलाई ५–० अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए तर सेमिफाइनलमा काजकस्तानका खेलाडी बिबोसिनोभ साकेनसँग ५–० अंकमा पराजित हुँदै कास्य पदक जितेका हुन् ।
प्रशिक्षक दीपक महर्जनले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा खुसी व्यक्त गरे । उनले भने, “जापानमा हुने २० औँ एसियाली खेललाई लक्षित गर्दै यो प्रतियोगितामा सहभागी भएका हौँ । ऐतिहासिक उपलब्धि हासिल भएको छ । खुसी छौँ, मलाई लक्ष्य २०२६ का लागि योग्य ठानेर प्रशिक्षक बनाउने विश्वास गर्ने राखेप परिवारलगायत सबैलाई धन्यवाद ।”


प्रतिक्रिया