दुई पटकभन्दा बढी पार्टी नेतृत्वमा नहुने व्यवस्था गर्न चाहन्छौं : सुरेन्द्र पाण्डे

दुई पटकभन्दा बढी पार्टी नेतृत्वमा नहुने व्यवस्था गर्न चाहन्छौं : सुरेन्द्र पाण्डे



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले शनिबारबाट सुरु हुने पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेलको नेतृत्वमा प्रतिस्पर्धाको तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार ईश्वर पोखरेल पक्षले काठमाडौंमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा पोखरेलको नेतृत्वमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

“हामीले यो महाधिवेशनमा ईश्वर पोखरेलको नेतृत्वमा प्रतिस्पर्धाको तयारी पनि गरिरहेका छौँ,” उपाध्यक्ष पाण्डेले भने ।

आफैँले ल्याएको पार्टीको अध्यक्षमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी हुन नपाउने र ७० वर्षको उमेरहद प्रावधान हटाएर ओलीले गलत गरेको उनले बताए ।

“नवौं महाधिवेशनमा उहाँ (ओली)ले म एउटा कक्षामा दोहोर्‍याएर पढ्दिन भन्नुभएको थियो । तर, अहिले विधान सच्याएर दुवै प्रावधान हटाउनु भयो,” उपाध्यक्ष पाण्डेले भने, “यो व्यवस्था पुनःस्थापना गर्न चाहन्छौँ । एउटै व्यक्ति दुई पटकभन्दा बढी पार्टी नेतृत्वमा नहुने व्यवस्था गर्न हामी चाहन्छौँ ।”