नवनियुक्त श्रम मन्त्री भण्डारीद्वारा श्रम क्षेत्रमा देखिएको संगठित जालो तोड्ने प्रतिबद्धता

नवनियुक्त श्रम मन्त्री भण्डारीद्वारा श्रम क्षेत्रमा देखिएको संगठित जालो तोड्ने प्रतिबद्धता



काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । शुक्रबार श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई गठन गरेर मुद्दालाई छिटो सम्पादन गर्नेछु । संगठित जालोलाई तोड्नुछ । मैले एक-एक घण्टामा कसरी काम गर्न सकिन्छ भनेर सोचिरहेको छु । कठोर कारबाही गर्नुपर्छ ।’

उनले एक्सनमा लैजानका लागि आफ्नो अनुभवले काम गर्ने बताए । ‘एउटा कार्यदल बनाएर एक्सनमा जान्छ । आममानिसलाई अनुभूत हुने गरी काम हुन्छ,’ उनले भने । उनका अनुसार जेन-जी आन्दोलनपछि गिरेको प्रहरीको मनोबल उठाउने काम प्रधानमन्त्रीबाट भएको बताए । ‘हरेक प्रहरी दमनकारी हुँदैन । हरेक जेन-जी विध्वंसकारी हुँदैन । यो सम्माननीय प्रधानमन्त्रीले सुरक्षाकर्मीको आवाज पनि क्याबिनेटमा भयो भने केही योगदान दिन सकिन्छ भनेर सोच्नुभएको होला,’ उनले भने,‘जेन-जीको पीडा छ । नेपाल प्रहरीको पीडा छ । दुवै पक्षलाई क्षति पुगेको अवस्था छ ।’