काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भदौ २३ र २४ गतेको घटनापछि आफू केही समय सुरक्षित स्थानमा गएर बसेको बताएका छन् । पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आफूलाई हेलिकप्टर चढेर भाग्यो भन्दै गरेको प्रचारप्रति विमति राखे ।
उनले भदौ २३ र २४ को महाविनाश बिर्सन नसकिने भन्दै दोषीलाई कारबाही गर्न माग गरे । असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर आफूले राजीनामा दिएको स्मरण गरे ।
उनले थपे, ‘देश अन्योलमा थियो, संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू राख्यौँ । यदि संसद्बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने भए दलहरूबीच सहमति हुनुपर्छ, संसदमार्फत् संविधान संशोधन हुनुपर्छ, संसद् विघटन गर्न हुँदैन भन्ने अडान थियो । तर देशलाई उल्टो दिशामा लगियो ।’
उनले असंवैधानिक सिफारिसमा भएको विघटन अस्वीकार्य भएको भन्दै पुनर्स्थापनाको विकल्प नभएको बताए ।
अहिलेको संघर्ष देश बनाउने र आगो झोस्नेहरूबीचमा रहेको भन्दै ओलीले आफ्नो जायज मागमा भावुक बनेर विनासका स्वार्थ समूहको हतियार नबन्न ‘जेनजी’लाई सन्देश दिए ।
‘साथीहरूलाई स्पष्ट हुन म आग्रह गर्छु– आजको हाम्रो संघर्ष जेनजी पुस्ता र पाको पुस्ताबीचको हुँदै होइन । पुराना दल र नयाँ पुस्ताबीचको पनि होइन,’ ओलीले भने, ‘संघर्षको केन्द्रबिन्दु त देश बनाउने र देश जलाउनेबीचको हो । मलाई विश्वास छ आजको नयाँ पुस्ता सधैँभरि देश बनाउने कित्तामा उभिनेछ ।’
उनले ‘जेनजी’को अपेक्षा र राज्यको डेलिभरि क्षमताबीचमा ‘ग्याप’ रहेको स्वीकार गरे । ‘तपाईंहरू प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस् । सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरूको भीड र कर्मचारीहरूको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस्,’ ओलीले भने, ‘अवसरहरू सबैका लागि बराबर होउन् । आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस् । योग्यताका आधारमा छनोट होस् । तपाईंहरूका अपेक्षा विल्कुल जायज छन् ।’
उनले चाहेजस्तो अवस्था नबने पनि त्यसतर्फको पाइला भने अघि बढेको बताए । उनले थुप्रै काम गर्न बाँकी रहेकाले आक्रोश आउनु स्वाभाविक भए पनि त्यसको प्रयोग गर्दा सचेत हुनुपर्ने वास्तविकता स्वीकार्न आग्रह गरे ।
आज भृकुटीमण्डपमा बन्दसत्र
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ ।
शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेपछि एमाले आजबाट नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो । बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।
देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया