ओखलढुंगाको पहिरे खोला पुल निर्माण कार्य प्रारम्भ (भिडियोसहित)

ओखलढुंगाको पहिरे खोला पुल निर्माण कार्य प्रारम्भ (भिडियोसहित)

उपलब्धिको साक्षी बन्न पाउँदा म अत्यन्तै खुशी छु र यो खुशी सबैसँग साट्न चाहन्छुः रामहरि खतिवडा



काठमाडौं । ओखलढुंगाको चर्चित पहिरे खोलाको पुल विधिवतरुपमा निर्माण कार्य प्रारम्भ भएको छ । धेरै विवाद र विविध कारणले लामो समयसम्म सुरु हुन नसकेको पुलको निर्माण कार्य औपचारिक रुपमा सोमबारबाट प्रारम्भ भएको ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने पूर्वसांसद रामहरि खतिवडाले जानकारी दिए ।

पटक पटक टेन्डर आह्वान भए पनि राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएपछि पहिरे खोलाको पुल अलपत्र परेको थियो । पछिल्लो समय पूर्वसांसद खतिवडाको पहलमा पुल निर्माण प्रकृया अगाडि बढेको हो । पुल निर्माण कार्यस्थलमा पुगेका पूर्वसांसद खतिवडाले पिताको आशौच बारेकाले औपचारिक उद्घाटन कार्यक्रम राखिएको थिएन । आशौच बारेका बेला मांगलिक काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता छ ।

राज्य व्यवस्था समितिका पूर्वसभापतिसमेत रहेका खतिवडाले निर्माण व्यवसायी र भौतिक पूर्वाधार मन्त्रालयमा खटिएका इन्जिनियरलाई काम जेठभित्र सम्पन्न गर्न आग्रह गरे । उनले भने, पहिरे खोला पुल निर्माण कार्य प्रारम्भ भएको छ । ओखलढुंगावासीका लागि यो महत्वपूर्ण छ । यो उपलब्धीको साक्षी बन्न पाउँदा म अत्यन्तै खुशी छु र यो खुशी सबैसँग साट्न चाहन्छु ।’

खतिवडाले भने, ‘सबैको निरन्तर प्रयासका कारण प्रदेश सरकारले यही वर्षको बजेटमै स्रोत सुनिश्चित गरिसकेको भए पनि बाटो डाइभर्सनका क्रममा निजी जग्गा पर्ने विषयले उत्पन्न विवादका कारण निर्माण कार्य सुरु हुन सकिरहेको थिएन । ती अवरोधहरु समाधान भएसँगै आजदेखि काम अघि बढेको छ । मेरो खुशीको सीमा छैन ।’

‘आजदेखि निर्माण थालिएको यस पुलले ओखलढुंगाको पश्चिमी भू–भागका जनताका लागि अत्यन्तै महत्वपूर्ण पूर्वाधारको रुपमा स्थान लिनेछ’ पूर्वसांसद खतिवडाले भने, ‘यसले दैनिक आवाज–जावतलाई सहज बनाउनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत उल्लेखनीय गति र उत्साह थप्ने विश्वास लिएको छु ।’

पहिरे खोलामा पुल निर्माण गर्ने प्रस्ताव पहिलोपटक आर्थिक वर्ष २०७८–०७९ मै कोशी प्रदेशसभाको बजेटबाट पारित भएको थियो । त्यसबेला ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने अम्बिरबाबु गुरुङ कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री थिए । उनकै पहलमा बजेट विनियोजन भएको भए पनि प्रक्रिया अगाडि बढ्न सकेन ।

पुनः आर्थिक वर्ष २०७९–०८९ मा पनि बजेट पारित भयो र यसपटक प्रक्रिया अघि बढ्दै २०८९ वैशाख १३ गते पूर्वाधार विकास कार्यालय, ओखलढुंगाले २० मिटरको पक्की पुल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । करिब तीन करोड रुपैयाँ लागतको उक्त पुलका लागि चारवटा निर्माण कम्पनीले बोलपत्र पेस गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कन भई आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगिसकेको अवस्थामा टेन्डर स्थगित गरियो ।

तत्कालिन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले मन्त्रीस्तरको निर्णयबाट स्रोत सहमति खारेज गरेसँगै ओखलढुंगाको पहिरे खोला पुल निर्माणको टेन्डर स्थगित भएको थियो ।

पूर्वसांसद खतिवडाको पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन भइ निर्माण प्रकृया अघि बढेको हो । ३ करोड २८ लाख रुपैयाँमा यति निर्माण सेवाले ठेक्का लिएको उक्त पुल २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।