एमाले महाधिवेशन : मतदान अन्तिम चरणमा

एमाले महाधिवेशन : मतदान अन्तिम चरणमा



काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि भैरहेको मतदान अन्तिम चरणमा पुगेको छ । २ हजार २ सय ६३ मतदातामध्ये अब केही मत मात्रै खस्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

हिजो बिहान ९ बजेदेखि शुरू भएको मतदान राति पनि निरन्तर भैरहेको छ । विद्युतीय मेसिनबाट मतदान गर्न एकजनालाई ९ मिनेटदेखि २ घण्टासम्म लागेको नेताहरुको भनाइ छ । ३ सय १ पद सबैलाई मतदान गर्नुपर्ने र प्रतिनिधिले आफ्नो प्यानल अनुसारको सूची हेरेर मतदान गर्ने गरेकाले ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ ।

मतदान सकिएपछि ३ देखि ४ घन्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ । केन्द्रीय कमिटीका ३ सय १ पदका लागि ६ सय ३ जनाले उम्मेदवारी दिएका छन् । एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

पदाधिकारीतर्फ एउटा अध्यक्ष पदमा २ जना, ५ वटा उपाध्यक्ष पदमा ११ जना, एउटा महासचिव पदमा २ जना, तीन वटा उपमहासचिव पदमा ७ र नौ वटा सचिव पदमा २० जनाले उम्मेदवारी दिएका छन् ।