रविले भने- सहिदको रगत अझै सुकेको छैन, खबरदार !

रविले भने- सहिदको रगत अझै सुकेको छैन, खबरदार !



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनको चौबीसकोठीमा भएको सभालाई सम्बोधन गरेका छन् ।

भरतपुरको चौबीसकोठीमा उनले विशेष सम्बोधनमार्फत चितवनले आफूलाई मात्र नभइ सिङ्गो देशलाई न्याय गर्ने विश्वास व्यक्त गरे ।

हिजो मात्रै थुनामुक्त भएका लामिछानेले चौबीसकोठीमा पहिलो सभालाई सम्बोधन गर्ने क्रममा आफूमाथि अन्याय भएको दोहोर्‍याए । नवयुवाको भावनालाई समेट्न आफूले सक्दो प्रयास गर्ने उनको भनाइ छ ।

रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने हिजो मात्रै जिल्ला अदालतमा उपस्थित भएर रिहा भएका हुन् ।

सभापति रवि लामिछानेले गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको रगत अझै नसुकेको भन्दै ‘नजिस्काउन’ चेतावनी दिएका छन् । उनले उक्त विद्रोहलाई कसैले जिस्काउने वा चलाउने आँट नगर्न चुनौती दिए ।

भदौ २३ गते ताकीताकी गोली हानिएपछि भोलिपल्ट आक्रोशित जनताले घरघरबाट विद्रोह गरेका उनले टिप्पणी गरे । “जनताले गरेको विद्रोह हो,” उनले भने, “त्यो विद्रोहलाई कतै कुनामा पसेर जिस्काउने, चलाउने आँट नगर है खबरदार !”

प्रतिनिधिसभा ब्युँताउनेतर्फ नलाग्न पनि उनले खबरदारी गरे । उनले भने, “जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद् ब्युँताउने हो कि भनेर आँखा चम्काउने वा नचाउनेहरू हो, होसियार ! सहिदको रगत अझै सुकेको छैन । सहिदकी आमाको आँसु अझै ओभानो भएको छैन, खबरदार !’