मुख्यमन्त्री यादव रौतहट–१ बाट सिफारिस

मुख्यमन्त्री यादव रौतहट–१ बाट सिफारिस



रौतहट । नेपाली कांग्रेसबाट प्रत्यक्ष उमेदवारका रूपमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नाम रौतहट क्षेत्र नम्बर–१ बाट सिफारिस गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनानुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति रौतहट–१ बाट यादवसहित चारजनाको नाम सिफारिस गरिएको हो ।

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति बैठकको निर्णयानुसार जिल्ला समितिलाई पठाइएको पत्रमा प्रत्यक्षतर्फ मुख्यमन्त्री यादव, रामेश्वरप्रसाद यादव, नितेशकुमार गुप्ता र सन्तु यादव सिफारिस गरिएको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार, समानुपातिकतर्फ जनजाति, मधेसी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुला समूहबाट आठजनाको नाम सिफारिस गरिएको छ ।

प्रचार विभाग प्रमुख गुप्ताले राष्ट्रियसभा सदस्यका निम्ति चिरञ्जीवीप्रसाद सिंह (अल्पसंख्यक/खुला) र नरेन्द्र पासवान (दलित)को नाम सिफारिस गरिएको बताए ।

अरू क्षेत्रबाट सिफारिस उमेदवारको नाम आइतबार (पुस ६) सार्वजनिक गरिने कांग्रेस रौतहट जिल्ला कार्यसमितिका सचिव मिथलेश मिश्रले जानकारी दिए ।