काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट छुट्टिएर गएका सुमना श्रेष्ठ, सन्तोष परियारलाई शुभकामना दिएका छन् ।
सहकारी ठगी प्रकरणमा लामो समय थुनामा रहेर धरौटीमा रिहा भएपछि कार्यभार सम्हाल्न पार्टी कार्यालय गएका लामिछानेले पार्टीबाट अलग्गिएका नेताहरूको सम्झना गरेका हुन् ।
‘यो यात्राको क्रममा थुप्रै कारणले जुनसुकै कारणले छुट्टिएर जानु भए पनि म शुभकामना अभिव्यक्त गर्न चाहन्छु । हामीले धेरै केही गर्न सकेनौं । तपाईंहरूले हाम्रो लागि धेरै गुण लगाएर जानुभएको छ । म तपाईंहरूको ऋणी रहनेछु,’ उनले भने ।
उनले यात्राका क्रममा पार्टीले सबै साथीभाइहरूलाई समेट्न नसकेको भन्दै रास्वपालाई योगदान दिने सबैलाई स्मरण गरे ।
‘म धन्यवाद दिइरहनेछु । हामीले धेरै केही गरेनौं, उहाँहरूले धेरै गरेर जानुभएको छ । उहाँहरूले हामीलाई धेरै सिकाएर जानुभएको छ । हामीलाई धेरै उपलब्धीमा साथ दिनुभएको छ । हामीले केही गर्न नसके पनि उहाँहरूले दिनु भएको योगदान त मनमा छ नि,’ उनले भने ।
उनले कसैप्रति कटाक्ष नगर्ने पनि बताएका छन् ।
‘कसैप्रति कटाक्ष गर्ने मुडमा छैन । कसैलाई हिलो छ्याप्ने पक्षमा छैन । यो लडाइँमा हाम्रो एउटा आह्वानमा साथ दिनुभयो,’ उनले भने, ‘हस्ताक्षर अभियानमा ४० लाख जनता सहभागी हुनुभयो ।’


प्रतिक्रिया