काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जनमत पार्टी र जनता समाजवादी पार्टीका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर गरेका छन् ।
उनीहरूले सर्वोच्च अदालतमा बुझाउन लागिएको पूरक निवेदनमा मुद्दाको पक्ष कायम गर्न माग गरिएको कागजमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी सांसद हसिना खान, जनतम पार्टीकी सांसद गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल थपिएका हुन् ।
विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेसका अहिलेसम्म ६५ सांसदले हस्ताक्षर गरेका छन् । घिमिरेले भने, ‘हामी अब कानुन व्यवसायीमार्फत हस्ताक्षर अदालत पठाउँछौं ।’
नेकपा एमालेले यसअघि नै ७५ सांसदको हस्ताक्षर बुझाएका थिए । कांग्रेस र एमालेको हस्ताक्षरपछि बहुमत सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेको देखिएको छ ।


प्रतिक्रिया