सैद्धान्तिक रूपमा हामी निर्वाचनको पक्षमा छौं : महेश बस्नेत

सैद्धान्तिक रूपमा हामी निर्वाचनको पक्षमा छौं : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले फागुन २१ को चुनाव र जेनजी सरकारबिच भएको सम्झौताप्रति एमालेको सैद्धान्तिक सहमति रहेको बताएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा एमालेका तर्फबाट धारणा राख्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

‘सैद्धान्तिक रूपमा हामी निर्वाचनको पक्षमा छौ । तर आजको वातावरण र संसद् पुनर्स्थापनाको यो सरकार असंवैधानिक भनेर सर्वोच्च अदालत गएकाले चुनाव हुँदैन भन्ने हाम्रो निष्कर्ष हो’बस्नेतको भनाइ छ ।

दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको उनले बताए ।

‘निर्वाचन भयरहित हुनुपर्‍यो । निष्पक्ष हुनुपर्‍यो, धाँधलीरहित हुनुपर्‍यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ–५/७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे । हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौं,’ उनले भने ।

उनले फागुन २१ मा निर्वाचन गर्न सरकारले ब्याक च्यानलबाट छलफलका लागि प्रस्ताव नगर्न आग्रह गर्दै ओपन च्यानल प्रयोग गर्न सरकारलाई आग्रह गरे ।

‘प्रधानमन्त्रीलाई म आग्रह गर्छु– दलहरूलाई ब्याक च्यानलबाट छलफलका लागि प्रस्ताव गर्ने भन्दा ओपन च्यानलबाट छलफल गर्ने गर्नुपर्छ’, बस्नेतले भने, ‘वान टु वान छलफल गर्दा राम्रो हुन्छ । धेरै छलफल भएपछि मात्र चुनावको वातावरण बन्छ ।’

जेनजीसँगको सम्झौता र चुनावप्रति सैद्धान्तिक रूपमा एमालेको आपत्ति नरहेको प्रस्ट पार्दै उनले भने, ‘तर जेनजीहरु नै भएका सहमति कार्यान्वयनमा आशङ्का गरिरहेका छन्, कोही जेनजी चुनाव हुँदैन भनिरहेका छन् ।’