काठमाडौं । हेटौँडामा सडक विस्तारका नाममा घरबारविहीन बनाइएको भन्दै पीडितहरूले काठमाडौँ आएर आफ्नो आक्रोश पोखेका छन् । तर, उनीहरूको विरोधको शैली भने नौलो थियो- हातमा ‘बुलडोजर आतंक बन्द गर’ लेखिएका प्लेकार्ड र काँधमा परम्परागत ‘धिमे बाजा’ ।
हेटौँडा बजार क्षेत्रमा २५ गज सडक सीमाभित्रका घर-टहरामा सरकारी पक्षले डोजर चलाएपछि विस्थापित बनेका स्थानीयहरू न्याय खोज्दै सिंहदरबारको मूल गेट अगाडि (माइतीघर) आइपुगेका हुन् । उनीहरूको यो प्रदर्शन केवल भौतिक संरचना जोगाउन मात्र सीमित थिएन, विकासका नाममा नेवाः संस्कृति र मौलिकता मास्न नपाइने सन्देश दिन उनीहरूले बाजासहितको सांकेतिक विरोध रोजेका थिए ।

प्रदर्शनकारीहरूले सडक विस्तारको बहानामा पुस्तौँदेखिको नेवाः बस्ती र संस्कृतिमाथि अतिक्रमण भइरहेको आरोप लगाएका छन् । धिमे बाजाको तालसँगै उनीहरूले सरकारलाई खबरदारी गर्दै भने, ‘विकास जनताका लागि हुनुपर्छ, विस्थापनका लागि होइन । सडक विस्तारका नाममा हाम्रो ऐतिहासिक पहिचान र संस्कृति मास्ने षड्यन्त्र मान्य छैन ।’
उनीहरूको यो आन्दोलनमा सडकपेटीमा साना व्यवसाय गरेर गुजारा चलाउनेहरूले पनि साथ दिएका छन् । हेटौँडाको मुख्य बजार भत्किँदा साना व्यवसायीको रोजीरोटी समेत खोसिएको भन्दै उनीहरूले पीडितको पक्षमा ऐक्यबद्धता जनाएका हुन् ।


प्रतिक्रिया