काठमाडौं । नेकपा एमालेले राजनीति दल र नेताहरूलाई निषेध गरेर निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिसँगको छलफलका क्रममा एमालेले नेताहरूलाई स्थान हद तोक्ने र राजनीतिक गतिविधिमा अवरोध गर्ने कार्यले निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको हो ।
छलफलपछि एमाले उपमहासचिव रघुवीर महासेठले आफूहरू निर्वाचनको विरोधी नभएको तर सरकारले नै निर्वाचनको उचित वातावरण बनाउन नसकेको जानकारी गराएको बताए । एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेकै कारण सरकारले एमाले अध्यक्षलाई स्थान हद तोकिएको उनले बताए ।
उनले पार्टी अध्यक्षलाई स्थान हद तोकिएको अवस्थामा एमाले निर्वाचन जान नसक्ने स्पष्ट पारे ।
त्यस्तै उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारीका बारेमा छलफल भएको र देश चुनावमय बनिसकेको बताए ।


प्रतिक्रिया