काठमाडौं । राजधानीको बालाजु क्षेत्रमा बुधबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । बालाजुस्थित बाइसधारा गेट नजिकै राति करिब साढे १० बजेको समयमा तीव्र गतिमा रहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार, बागमती प्रदेश ०१-००६ ख ३४५४ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट सडकमा बजारिएका मोटरसाइकल सवार दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतकको सनाखत र घाइतेको विस्तृत विवरण खुल्न बाँकी छ ।
दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिको अहिले अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै पुगेको बालाजु प्रहरी वृत्तको टोलीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया