नेपाली जनसम्पर्क समिति,अमेरिकाको पूर्व घोषित डिसेम्वर २७ तारिख हुने भनिएको अधिवेशन स्थगित भएको छ। बुधवार सम्पन्न केन्द्रीय समितिका पदाधिकारीहरुको बैठकले समय अवधि कम भएकोले पहिले तोकिएको मितिमा अधिवेशन गर्न व्यवहारिक र प्राविधिक कारण अधिवेशन गर्न नसकिने निर्णय गरेको थियो। सोही बैठकपछि महासचिव मुनिन्द्र नेम्वांगले विज्ञप्ति जारी गर्दै डिसेम्वर २७ तारिख अधिवेशन हुन नसक्ने जानकारी गराएका हुन्।
समितिका सबै च्याप्टरहरुको अधिवेशन गत शनिवार एकैसाथ सम्पन्न भएको थियो। अमेरिकाका विभिन्न २६ वटा राज्यमा समितिको च्याप्टर नेतृत्व चयन सर्वसम्मत रुपमा सम्पन्न भैसकेको छ। अब च्याप्टर अधिवेशनमार्फत चयन भएका केन्द्रीय प्रतिनिधिहरु मार्फत समितिको केन्द्रीय नेतृत्व चयन हुन्छ। तर पूर्व निर्धारित मितिका लागि अधिवेशन स्थल तय नभएको, अमेरिकामा क्रिसमस र नयाँ वर्ष जस्ता चाडका कारण अनुकूल समय नभएको र कतिपय अन्य आन्तरिक र प्राविधिक कार्य सम्पन्न नभएको भन्दै अधिवेशन स्थगनको जानकारी गराइएको छ।
अब पार्टीको जनसम्पर्क समन्वय विभाग र केन्द्रीय नेतृत्वसंग समन्वय गरी चाडै नयाँ मिति र अधिवेशन स्थल तय गरिने समितिका सभापति आनन्द विष्टले जानकारी दिनु भएको छ। ‘अन्तिम समयमा यसरी अधिवेशन स्थगन गर्नुपर्दा हामीलाई पनि अप्ठ्यारो लागेको छ। यसका लागि सबै प्रतिनिधि साथीहरुसंग केन्द्रीय समितिको तर्फबाट पुन: चाडै अधिवेशन मिति र स्थान तय गरी सार्वजनिक गरिने जानकारी गराउन चाहन्छु र अहिलेको असुविधाप्रति क्षमा समेत माग्दछु’ विष्टले भनेका छन्।


प्रतिक्रिया