काठमाडौं । वर्तमान सरकार चुनावको वातावरण बनाउन सक्रिय बनेको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल शुरू गरेको छ ।
आज विहान सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको महाराजगञ्जस्थित निवासमा छलफल गरेका छन् ।
देउवाले चुनावमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि चुनाव नै भएको बताउए ।
साथै सभापति देउवाले स्वतन्त्र एवम् निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले बताए ।
मन्त्री खरेलको सचिवालयका अनुसार उनले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया