प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्ने

प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्ने



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच आज निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो ।

त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।

शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।

साथै मन्त्री खरेलले शनिबार ४ बजे तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएका थिए ।

सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् । खासगरी नेकपा एमालेले यसबारे प्रश्न उठाइरहेका बेला सरकारका मन्त्रीहरू नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागेका हुन् ।