व्यवस्थालाई प्रश्न मन पर्दैन, तर पनि म प्रश्नै गर्छु

व्यवस्थालाई प्रश्न मन पर्दैन, तर पनि म प्रश्नै गर्छु



विमल सुवेदी फरक डिजाइनका नाटकका लागि चर्चित छन्। भारतको प्रतिष्ठित नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा पढेर नेपाल फर्किएदेखि उनी थिएटर भिलेज खोलेर नाट्यकर्ममा सक्रिय छन्। नेपालमा भइराख्ने परम्परागत नाट्य शैलीभन्दा फरक मालिनी, ह्याम्लेट, सान्दाजुको महाभारत, मकैको अर्को खेती, साबिति जस्ता नाटक प्रस्तुत गरिसकेका उनी नाटकमा भिज्युअल मिडियमलाई खोज्न रुचाउँछन्। उनका नाटकहरूले कथासँगै भिज्युअल पोयट्री पनि हुन्छ। उनकै डिजाइन र डिरेक्सनमा यति बेला नारायण वाग्लेको उपन्यासमा आधारित भएर पल्पसा क्याफे नाटक मण्डला थिएटरमा मन्चन भइरहेको छ । यसै सिलसिलामा उनीसँग गरिएको कुराकानी-

के हो पल्पसा क्याफे ?
पल्पसा क्याफेलाई चिनाइरहनु नपर्ला । यसलाई फरक फरक उमेर समूहका पाठकले विभिन्न कालखण्डमा फरक तरिकाले पढेका बुझेका छन्। तर मेरो लागि चाहिँ यो किताब जति लेखिएको छ त्यो भन्दा धेरै हो। यहाँका धेरै बिम्बहरू समय अनुसार नयाँ स्वरूपमा ढल्दै जान्छन् र नयाँ तरिकाले आफूलाई व्यक्त गर्दै जान्छन्। उपन्यासलाई नाटक बनाउने प्रक्रियामा लागेदेखि अहिले मञ्चन गर्ने बेलासम्म पनि ती पटक पटक नयाँ नयाँ कुरा बोलिरहेका छन्।

कसरी नाटक बनाउने सोच आयो ?
खासमा मलाई यो नाटक गरिहाल्छु भन्ने थिएन। थिएटर भिलेज पुरानो ठाउँबाट उठेको लगभग ५ वर्ष बितिसकेको थियो। मैले पुरानो ठाउँमा अन्तिम नाटक गरेपछि नयाँ थिएटर उभिनुभन्दा पहिला कुनै नाटक गर्दिनँ भन्ने सोचेको पनि थिएँ। नाटक घर अचानक भत्किएपछि मैले नाटक नै किन गर्ने भन्ने सोचाई पनि नआएको हैन। भत्किएपश्चात् त्यसको व्यवहारिक र व्यवस्थापकीय बोझले रचनात्मक रूपमा सोच्नको लागि ठुलो चुनौती दिएको पनि थियो। नयाँ थिएटर बनाउन खोज्दा पनि सकिएन। धेरै दौडधुप आजपर्यन्त पनि छ। त्यही दौडधुपकै क्रममा एक दिन मेरा दिवङ्गत साथी गोकर्ण गौतमले कुरै कुरामा नाटक बनाउन उक्साउनुभयो। त्यसरी सोच्न थाल्दा मेरो दिमागमा पल्पसा क्याफे उपन्यास आयो। त्यसलाई नाटक गर्ने अनुमति मागिसकेपछि मैले नाटक रूपान्तरण गर्न सुरज सुवेदीलाई भेटेँ जो म जस्तै उपन्यासले बोलेको समय र विषयको साक्षी हुनुहुन्थ्यो। साहित्य र रङ्गमञ्चको दुवै माध्यमलाई बुझ्नुभएको पनि थियो। उहाँले नाटक बनाउन तयार भएसँगै नाटक बनाउने प्रक्रियाले गति लियो।

नारायण वाग्लेकै किताब रोज्नुको कारण?
केही वर्ष पहिला पोखरामा एउटा प्ले मेकिङ वर्कसप भएको थियो। देशभरका १२ जना निर्देशकहरू राज्यद्वारा बेपत्ता पारिएका नागरिकहरूको विषयमा सँगै रहेर नाटक तयार पार्ने कार्यक्रम थियो। त्यसमा मैले सहजकर्ताको भूमिका निभाएको थिएँ। त्यहाँ हामीले द्वन्धको समयमा राज्य र माओवादी पक्षबाट बेपत्ता पारिएका नागरिकहरूको कथालाई सामूहिक नाटक बनाएका थियौँ। आफन्त पर्खिरहेका परिवारका सदस्यहरूसँग प्रत्यक्ष भलाकुसारी पनि गरेका थियौँ। मलाई लाग्छ यो नाटक गर्ने बीज त्यति बेलै रोपिएको हो। मैले प्रत्यक्ष रूपमा भोगेको र देखेको द्वन्धको त्यो फरक पाटो थियो। द्वन्द्व सकिएको लामो समय भइसक्दा पनि नसुल्झिएको यथार्थ थियो। मलाई त्यो कुरा अझै खोज्न मन थियो। खोज्दै गर्दा पल्पसा क्याफे उपन्यासमा त्यो कुरा भेटेँ। त्यसैले यो किताब अहिलेको समयमा उभिएर आजभन्दा १५ वर्ष पहिलाको त्यो अवस्थामा फर्किएर विवेचना गर्न उपयुक्त लागेर नै पल्पसा क्याफे छानेको हुँ।

पुस्तकका सबै कुरा नाटकमा समेट्नुभएको छ त?
विवेचनामा सबै कुरा समेटिँदैन, यसले कुनै विषयलाई फरक तरिकाले हेर्छ। त्यसरी हेर्दा यो नाटकमा उपन्यासलाई हामीले हेरेको कोण समेटिएको छ। हाम्रो तरिकाले एउटा नाटकमा आउनसक्ने कुरा र उपन्यासको छुटाउनै नहुने कुरा समेटिएको छ। कतै जस्ताको तस्तै आएको पनि होला। कतै धेरै फरक भएर आएको पनि होला। तर उपन्यासको मर्म भने दुवै प्रक्रियामा मरेको छैन।

एउटा पुस्तकलाई नाटकमा उतार्न कति गाह्रो हुँदो रहेछ?
यो सजिलो र गाह्रो दुवै छ। सजिलो किन भने कथा खोजिरहनु पर्दैन। पात्र खोजिरहनु पर्दैन। पृष्ठभूमि, भाव, केन्द्रीय विषयवस्तु सबै उपन्यासमा हुन्छ। पुस्तक आफैँमा विवेचना गर्न लायक भइसकेको नै हुन्छ। तर गाह्रो भने ती सबै कुरालाई विश्वासयोग्य र इमानदार रूपमा मञ्चमा देखाउँदा अनेक चुनौती आइसक्छन्। उपन्यासमा लेखिएको स्वरूपमा भएका पात्रलाई बोलाउनु पर्दा फरक तरिकाले चरित्र निर्माण हुन जान्छ। तीनले बोल्ने संवाद उपन्यासमा गरिएका वर्णनभन्दा उन्मुक्त बनिदिन्छन्। त्यसलाई धेरै परसम्म पुग्न नदिन पनि बेलाबेला आफूलाई नियन्त्रण गर्नुपर्ने पनि हुन्छ। अनि सँगै धेरै चलेको किताब भएकाले मानिसको दिमागमा बसिसकेका पात्र हुन् भन्ने थाहा हुनुले पनि एउटा ठुलो जिम्मेवारी बोध गराइरहन्छ। तीनको संवेदना आम मानिसको संवेदनासँग गाँसिइसकेको हुन्छ। तर उपन्यासका लेखक नारायण वाग्ले दाइबाट भने कुनै पनि हस्तक्षेप नभएकाले सजिलो भने भयो। उहाँले हामीलाई हाम्रो तरिकाले विवेचना गर्न छुट दिनुभयो। तर हस्तक्षेप नभएको भन्दैमा हामी अनावश्यक बरालिएका पनि छैनौँ।

अहिले धमाधम पुस्तकहरू नाटक बन्दै गएका छन्। के अन्य कथा नपाएर हो ?
मलाई यो प्रश्न यसरी सोधिनुपर्छ भन्ने नै लाग्दैन। किनभने नाटक पनि साहित्यको एक ठुलो हिस्सा हो। र साहित्य रूपान्तरणका लागि नाटक हरेक कालखण्डमा उत्तिकै महत्त्वपूर्ण माध्यम हो। उपन्यासमा पनि नाटकका धेरै तत्त्वहरू अटेका हुन्छन्। त्यहाँ संवाद हुन्छ, चरित्र हुन्छन् । यसैले पुस्तक नाटकमा आउनु आफैँमा सुखद कुरा हो किनकि यसले पुस्तकले भनेको विषयलाई नयाँ तरिकाले रूपान्तरण हुन मद्दत गर्छ। विश्वको रङ्गमञ्च र साहित्यिक इतिहासलाई हेर्ने हो भने यो बहसको विषय नै हैन। अस्कर अवार्डमा पनि बेस्ट अडप्टेड स्कृनप्ले भन्ने छुट्टे बिधा नै रहेको छ। यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो। धेरै उत्कृष्ट फिल्महरू वा नाटकहरू पुस्तकबाट बनेका अनगिन्ती उदाहरणहरू छन्। किताबमा नाटक वा फिल्म बन्नु भनेको कथा कम हुनु हैन बरु कथा बलियो हुनु हो। बरु पुस्तकहरू नाटक वा चलचित्र रूपान्तरित भएर फरक विधामा जाने कुरा स्वाभाविक किन लागिरहेको छैनन् र धेरै काम त्यसरी किन भइरहेका छैनन् भन्ने प्रश्न चाहिँ महत्त्वपूर्ण प्रश्न हो। मलाई लाग्छ हामीले नयाँ कोण लिएर धेरै भन्दा धेरै किताबहरूमा पुग्नुपर्छ।

दर्शकले नाटक पल्पसा क्याफे किन हेर्ने ?
मैले माथि नै भनेँ यो उपन्यासलाई धेरै दर्शकहरूले फरक फरक तरिकाले पढ्नुभएको छ। हामीले उपन्यासलाई नयाँ तरिकाले बुझ्ने र खोज्ने प्रयत्न गरेका छौँ। नाटक हेर्ने नियमित दर्शकको लागि त नाटक किन हेर्ने भनेर प्रश्न सोध्नु नै पनि उपयुक्त हुँदैन। सबैसँग फरक फरक कारण हुन्छ। सबैको फरक फरक खोजी हुन्छ। हाम्रो नाटक हेरेर त्यो कारण र खोजीमा नयाँपन भेट्नसक्नुहोस् भन्ने हामीलाई आशा छ। पल्पसा क्याफे नाटकमा किन हेर्ने भन्नै पर्दा चाहिँ नेपालको साहित्य र राजनीतिलाई जसले नाटकको माध्यमबाट एकै ठाउँ हेर्न चाहन्छ उहाँहरूको लागि उपयुक्त हो जस्तो लाग्छ।

तपाईँहरूको थिएटरको काम कहाँ पुग्यो। कतिले बनाउनुहुन्छ थिएटर भिलेज?
जग्गाकै झमेलाहरूले गर्दा अड्किरहेको हो। धेरैतिरबाट भएका बाचाहरू पुरा भएनन्। नेपालको लगभग हरेक क्षेत्र खराब राजनीति र दलालहरूबाट भरिएको छ। त्यसमा कलालाई सेँधैभरि अप्ठ्यारो नै छ किनकि यसको प्रभाव तत्कालै देखिँदैन। कसैले यसमा सहजता दिनुमा प्रत्यक्ष फाइदा पनि भेट्दैनन्। यसले त उल्टै बलियो प्रश्नहरू गर्छ। नेपालको धेरै व्यवस्थालाई त प्रश्न पनि मन पर्दैन। मैले यो जग्गाको प्रक्रियामा जति लामो यात्रा गरेँ त्यसले नेपाली व्यवस्थाको धेरै चरित्रहरूसँग साक्षात्कार गर्ने मौका पाएँ। मैले लगभग २० २५ वटा देशमा काम गरेँ। र नीति र सरकारी दुवै निकायहरूसँग नजिक भएर काम गरेँ। त्यहाँ उनीहरूको देशको पहिचान भनेको कला संस्कृतिमा नै आधारित रहेर निर्धारित भएको हुन्छ। धेरै देशहरूमा थिएटरको लागि भनेर बजेटकै पनि व्यवस्था गरिएको हुन्छ। हामीले त्यो पनि मागेको हैन। हामीले सरकारसँग थोरै सहजीकरण मागेका थियौँ। व्यक्तिगत रूपमा मलाई धेरै देशहरूमा त्यहाँ गएर म थिएटर गर्न चाहन्छु भने त्यहाँ मलाई जग्गा दिन्छ। बोलाइरहेको पनि छ। तर आफ्नै देशमा रहेर गर्छु भन्दा मैले आफ्नो रचनात्मक समयलाई दौडधुपमा खर्चिनुपरेको छ। तर म अझै पनि दौडधुप सहेर यहाँ नै केही गर्न चाहन्छु ताकि म जस्तो अर्को व्यक्तिले मेरो जस्तो तितो यात्रा गर्नु नपरोस्।