काठमाडौं । देश अब अन्योलमा नभएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । सरकार र प्रधानमन्त्री सुशीला कार्कीलाई उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा धन्यवाद दिँदै प्रचण्डले देश अब अन्योलमा छैन भन्ने लागेको बताए ।
प्रचण्डले भने, ‘तपाईंहरुलाई निकै अप्ठ्यारो भएको महसुस हामीले गर्थ्यौं/ गरेका छौं, धेरै खाल्का चुनौतीहरु जटिलताहरु समस्याहरु झेल्दै निर्वाचन नै हो देशको निकास सहज वातावरण बनाउने अर्को होइन भनेर जो दृढता तपाईंहरुले प्रदर्शन गर्नुभयो, अब सबै राजनीतिक दल र आम जनता पनि निर्वाचनको मानसिकतामा अगाडि बढ्ने वातावरण बनाउनु भयो त्यसका लागि विशेष रुपले सरकार र त्यसको नेतृत्व धन्यवादको पात्र भएको मैले महसुस गर्दछु ।’
प्रचण्डले देश असहज असाधारण परिस्थितिबाट गुज्रेको बताए । उनले भने- ‘राष्ट्रको अगाडि विरलै आउने गर्छ त्यस्तै संकट देखा पर्यो । हामीले यो संकटको समाधान गर्ने हो भनेको राष्ट्रिय राजनीतिक या सर्वपक्षीय सहमति नै हो ।’
प्रचण्डले चुनावमा गए पनि सहमतिमै जानुपर्ने र अन्य कुनै विकल्पको बारेमा सोच्ने हो भने पनि राष्ट्रिय राजनीतिक सहमतिबाट नै जानुपर्छ उल्लेख गरे ।
प्रचण्डले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गरेको बताए ।
उनले भने, ‘जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्व, समाजका सबै स्थापित संघसंस्था र प्रतिनिधिहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गर्यो भने अर्को तिर नयाँ संकल्पन गर्ने या इतिहासको मञ्चबाट पन्छिन पनि त्यसले प्रश्न चिह्न खडा गरिदियो ।’
सबैले आ-आफ्नो कमजोरी कहाँनेर भयो, त्यसालाई कसरी सच्याउने ? भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने उनले बताए ।
जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्ने वा इतिहासमा अब आफ्नो औचित्य सकियो भनेर पन्छिने बेला आएको उनले बताए ।


प्रतिक्रिया