विशेष महाधिवेशनको दस्ताबेज लेख्न धुलिखेलतिर लागे गगन

विशेष महाधिवेशनको दस्ताबेज लेख्न धुलिखेलतिर लागे गगन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको तयारीमा जुटेका छन् । नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि विधानअनुसार विशेष महाधिवेशन अब बाध्यकारी रहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निष्कर्ष निकालेका छन् ।

त्यसअनुसार पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने उनीहरूको तयारी छ ।

विशेष महाधिवेशन गर्नका लागि हल बुक गराएर महामन्त्री थापा दस्ताबेज लेखनका लागि आजै धुलिखेलतिर लागेको उनी निकट एक नेताले बताए । गगन अब दुई दिन दस्ताबेज लेखनमा व्यस्त हुने उनले जानकारी दिएका छन् ।

विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको पार्टी नेतृत्वलाई पनि जानकारी गराउने तयारी भइरहेको बताइएकाे छ ।

विशेष महाधिवेशन विधानअनुसार ३ महिनाभित्र गर्नुपर्ने हुन्छ र त्यो अवधि पुस २८ मा सकिँदैछ । त्यसैले महामन्त्रीद्वय थापा र शर्माले विधान कार्यान्वयन गर्न भन्दै विशेष महाधिवेशन आयोजना गर्न लागेका हुन् ।

महामन्त्रीद्वयले विशेष महाधिवेशनको तयारी अघि बढाएपनि संस्थापन पक्ष भने चुनावपछि नियमित महाधिवेशनको पक्षमा छ ।