काठमाडौं । धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
धनुषाको कमला नगरपालिकामा शनिबार भएको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदायले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाही गरेको हो । प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि ५ राउण्ड अश्रुग्यास प्रहार गरिएको हो । प्रहरीको कारबाहीपछि अहिले भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रतिक्रिया