समानुपातिक बन्दसूचीकाे गल्ती सच्याउने समय २७ गतेसम्म

समानुपातिक बन्दसूचीकाे गल्ती सच्याउने समय २७ गतेसम्म



काठमाडाैं । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो ।

रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले जानकारी दिए । कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटी छुट्याएर दलहरूलाई सच्याउन पठाइने उनले बताए । उनकाअनुसार २१ गतेदेखि २७ गतेसम्म दलहरूले त्रुटी सच्याएर पुनः बन्दसूची पेस गर्न पाउनेछन् ।

अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने उनले बताए । समानुपातिक सूचिमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए ।

दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचिलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने छ ।