काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट चुनाव लड्ने निश्चित भएको छ । रुकुमपूर्वका जिल्ला नेताको अनुरोधमा संयोजक प्रचण्ड निर्वाचन लड्न तयार भएको समाचारहरुमा जनाइएको छ ।
उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न अनुरोध गर्दै जिल्लाको टोली नै काठमाडौं आएको थियो । यस विषयमा संयोजक प्रचण्डसँग ललितपुरमा दुई दिनसम्म छलफल भएको र उहाँ चुनाव लड्न सकरात्मक रहेको जिल्ला संयोजक कुमारी बराल (गौतम) ले जानकारी दिइन् ।
यसअघि २०७९ को आम निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट माओवादीका उम्मेदवार पूर्णबहादुर घर्तीमगर एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई दोब्बरभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए ।
घर्तीमगरले १२२६२ मत पाउँदा मल्लले ५२११ मत पाएका थिए । घर्तीमगरलाई कांग्रेसले पनि सहयोग गरेको थियो । उक्त निर्वाचन क्षेत्रमा माओवादी र कांग्रेसको पक्कड क्षेत्र मानिन्छ ।
त्यसैगरी २०७४ को आम निर्वाचनमा उक्त क्षेत्रबाट माओवादीकै कमला रोक्काले कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीमगरलाई दोब्बरभन्दा बढी मतले पराजित गरेकी थिइन् । रोक्काले १०४३४ मत पाउँदा घर्तीमगरले ४४०६ मत पाएका थिए । त्यसबेला माओवादीलाई एमालेले सहयोग गरेको थियो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वले प्रत्यक्षतर्फ नौ जना आकांक्षीको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ तेजबहादुर ओली, गणेशमान पुन, दलजित शेर्पाली, जितमान पुन, सुबोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सिर्जना कार्कीको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको थियो ।
समानुपातिकतर्फ सुनिता बुढा (महिला), दिपेन्द्र छन्त्याल (अल्पसंख्यक), टिकाराम उपाध्याय (अन्य), हर्कबहादुर कामी (दलित) र उपेन्द्रलाल कामी (दलित) बाट सिफारिस भएका छन् ।


प्रतिक्रिया