रविले स्वर्णिमलाई भने : डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरू गर्नुहोस्

रविले स्वर्णिमलाई भने : डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरू गर्नुहोस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा बहुमत आए डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा गरेका छन् ।

उनले सोमबार आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभामा पार्टीका उपसभापति वाग्लेलाई सम्बोधन गर्दै भने, ‘डाक्टर साहब, आउने वर्षको बजेट लेख्न सुरू गर्नुहोस् ।’

उनले पुराना दलका नेता-कार्यकर्तालाई कटाक्ष नगर्न आफ्ना कार्यकर्ताहरूलाई आह्वान पनि गरेका छन् । ‘हाम्रो एकताले हामीमाथि जिम्मेवारी थपिएको छ । अब हामी शक्तिशाली भयौं भनेर अपदस्थ भएका साथीहरूलाई कटाक्ष नगरौं,’ उनले भने ।

उनले अगाडि भने, ‘हामी मिलेपछि पपुलिस्टहरू मिले भनेर गाली गरेको सुन्नमा आएको छ । हाम्रा नेताहरूलाई गाली गरेर कोही तृप्त हुन्छन् भने उनीहरूलाई तृप्त हुन दिनुस् ।’

उनले आफू जेलमा रहँदा थुप्रै व्यक्ति र समूह भेट्न आउने गरेको उल्लेख गर्दै आफैले चाहेर भेटेको भने थरूहट आन्दोलनमा लागेकाहरू भएको बताए ।

उनले पुराना राजनीतिक दलहरूलाई अक्षमता स्वीकार्न पनि अनुरोध गरेका छन् । ‘पुराना राजनीतिक दलहरू जो यदाकदा आएको परिवर्तनलाई स्वीकार्न अप्ठ्यारो मानिरहेको देखिरहेको छु। उहाँहरूलाई म विनम्रतापूर्वक भन्न चाहन्छु, स्वीकार्नुस् आफ्नो असक्षमतालाई स्वीकार्नुस्। मुलुक जरजर अवस्थामा पुगिसकेको छ,’ उनले भने ।