राष्ट्रियसभामा यी हुन् कार्यकाल सकिन लागेका १९ सांसद

राष्ट्रियसभामा यी हुन् कार्यकाल सकिन लागेका १९ सांसद


ग्लोब नेपाल
378
Shares

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार रिक्त हुन लागेका १८ पदका लागि भोलि (बुधबार) उम्मेदवारी दर्ता हुँदैछ । आगामी माघ ११ गते हुने निर्वाचनपछि राष्ट्रियसभामा नयाँ समीकरण तय हुनेछ ।

आगामी फागुन २० गतेदेखि १९ जना सांसदहरू ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदैछन् । जसमा एकजना राष्ट्रपतिबाट मनोनीत (वामदेव गौतम) हुन् भने बाँकी १८ जना निर्वाचित सदस्य हुन् । कार्यकाल सकिन लागेका १९ जनामध्ये नेपाली कांग्रेसका एकजना पनि सांसद छैनन् । तर, स्थानीय तह र प्रदेश सभामा रहेको मतभारका कारण कांग्रेस अहिले निर्णायक र बलियो अवस्थामा छ ।

आफ्नो एक सिट पनि खाली नभएको अवस्थामा कांग्रेसले चुनावी समीकरणमा ठूलो हिस्सा खोजेको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसहितको टोलीले एमाले र माओवादी केन्द्र (नेकपा) सँगको छलफलमा १८ मध्ये ७ सिटमा आफ्नो दाबी पेस गरेको छ।

कांग्रेसले अघि सारेको अनौपचारिक प्रस्तावमा एमालेलाई ६, माओवादी केन्द्र (नेकपा) लाई ४ र उपेन्द्र यादव नेतृत्वको जसपालाई १ सिट दिने गरी सहकार्यको खाका बनाइएको छ । यता, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि चुनावी सहकार्यका विषयमा छलफल बाक्लिएको छ ।

को-को हुँदैछन् बिदा ?
फागुनमा बिदा हुने सांसदहरूको सूचीमा एमाले र माओवादी केन्द्रका सांसदहरूको बाहुल्यता छ। एमालेका ८ जना सांसदहरू- इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल सकिँदैछ ।

त्यस्तै, तत्कालीन नेकपा (हाल माओवादी र एकीकृत समाजवादी) बाट निर्वाचित ८ जनाको पनि बिदाई हुँदैछ । जसमा हेभीवेट नेता नारायणकाजी श्रेष्ठसहित बेदुराम भुसाल (एकीकृत समाजवादी), गोपीबहादुर सार्की, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।

यसका साथै जसपाका मृगेन्द्रकुमार सिंह यादव र लोसपाका शेखरकुमार सिंहको कार्यकाल पनि पूरा हुँदैछ । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको कार्यकाल सकिएपछि उक्त एक सिटमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पुनः मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।