काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । उनले हाल परस्परमा पार्टीमा प्रतिस्पर्धा गर्ने समय नभएको बताए । सबै एकताबद्ध भई निर्वाचनमा जानुपर्ने समय रहेको उनले उल्लेख गरे ।
“पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो,” उनले भने, “यति बेला पार्टीमा परस्परमा नेता, साथीहरूको बीचमा प्रतिस्पर्धा गर्ने बेलै होइन । निर्वाचनमा पार्टी एकताबद्ध भएर जाने बेला हो यो ।”
पार्टीमा हाल देखिएको परिस्थिति राम्रो नभएको उनले बताए । कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरू लागिपरेको उनले सुनाए । विशेष महाधिवेशन अहिलेको आवश्यकता नभएको उनले टिप्पणी गरे ।
“आजसम्म जुन परिस्थिति देखिएको छ, त्यो राम्रो मानिँदैन । तथापि, हामी केन्द्रीय कार्यसमितिले गरेको निर्णयमा लागिपरेका छौँ । अब राजनीति हो, परिणाम जे आउँछ, त्यसलाई लिएर अघि जानुपर्छ । विशेष महाधिवेशन आजको आवश्यकता होइन,” उनले भने ।
उनले अगाडि भने, “आजको आवश्यकता निर्वाचनमा पार्टीभित्र देखाउनुपर्ने पूर्ण समझदारी हो । निर्वाचनको तयारीमा सबै जुट्नुपर्ने बेला हो । यस्तो बेलामा पार्टीमा खैलाबैला भएको छ, त्यो उचित छैन । पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य हो ।”


प्रतिक्रिया