जेनजी आन्दाेलन : निजी प्रतिष्ठानमा २७ अर्ब ४९ कराेड र सार्वजनिक संस्थानमा ९५ करोडको क्षति

जेनजी आन्दाेलन : निजी प्रतिष्ठानमा २७ अर्ब ४९ कराेड र सार्वजनिक संस्थानमा ९५ करोडको क्षति



काठमाडौं । जेनजी आन्दोलनका बेला निजी प्रतिष्ठानतर्फ २७ अर्ब ४९ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

गएको भदौ २३ र २४ गते भएको तोडफोड, आगजनीलगायतबाट निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेको स्थायी एवम् अस्थायी सम्पत्तिमा गरि कुल २७ अर्ब ४९ करोड ३ लाख रुपैयाँ क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

क्षतिको जाँचबुझ गर्न गठित सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार निजी तथा सामुदायिक क्षेत्रले पछिल्लो आन्दोलनका बेला ठूलो क्षति व्यहोर्नुपरेको देखाएको हो ।

निजी प्रतिष्ठान तथा घरपरिवारमा कुल क्षति रकम ३३ अर्ब ५४ करोड ८७ लाख र सामुदायिक तथा अन्य क्षेत्रमा भएको क्षति रकम ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ रहेको छ ।

प्रतिवेदनअनुसार निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेको स्थायी एवम् अस्थायी सम्पत्तिमा भएको क्षति निजी तथा सामुदायिक क्षेत्रमा भएको कुल क्षति रकमको ६९ दशमलव ८ प्रतिशत हो ।

यो क्षेत्रले व्यहोरेको कुल क्षतिमा भवनको आगजनी तथा तोडफोडबाट भएको क्षतिको अंश सबैभन्दा ठूलो ४५ दशमलव २ प्रतिशत रहेको छ । त्यसपछि अन्य भौतिक सम्पत्तिको क्षति २७ दशमलव ४ प्रतिशत, अस्थायी सम्पत्ति तथा अन्य निजी सम्पत्तिको क्षति २१ दशमलव ७ प्रतिशत र गाडीतर्फ ३ दशमलव ४ प्रतिशत रहेको छ ।

त्यस्तै सार्वजनिक संस्थानमा मात्रै ९५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । सार्वजनिक संस्थानको स्वामित्व वा भोगचलनमा रहेका सम्पत्तिको क्षति ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

सार्वजनिक संस्थानमा भएको कुल क्षतिमध्ये भवनतर्फ ४३ दशमलव १ प्रतिशत, गाडीतर्फ १६ दशमलव १ प्रतिशत, अन्य भौतिक सम्पत्तितर्फ ३७ दशमलव ४ प्रतिशत र अन्यमा ३ दशमलव ३ प्रतिशत क्षति भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार संस्थानका नेपाल सरकारअन्तर्गतका २६ वटा भवनमा क्षति पुगेको छ । प्रदेश सरकार मातहत रहेका संस्थानका ३ वटा भवनमा क्षति पुगेकाे छ । समग्रमा क्षतिको भार भवन तथा स्थायी सम्पत्तिमा बढिरहेकाले उत्पादन, सेवा र रोजगारी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।