आगामी निर्वाचनमा समानुपातिकतर्फ ५८ चुनाव चिह्न

आगामी निर्वाचनमा समानुपातिकतर्फ ५८ चुनाव चिह्न



काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको समानुपातिक तर्फको मतपत्र छपाइको काम सुरु गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार (पुस २५) बाट मतपत्रको छपाइको काम सुरु गरिएको जानकारी दिए ।

माघ ९ गतेसम्म सकिने गरी सो पत्रको छपाइको काम सुरु गरिएको हो । प्रवक्ता भट्टराईका अनुसार माग १० गतेपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिनेछ ।

‘समानुपातिक निर्वाचनतर्फको वास्तविक मतपत्र छपाइको काम आजबाट सुरु भएको छ । हामीले समानुपातिकतर्फको मतपत्र छपाइ गर्ने काम माग ९ गतेसम्म सम्पन्न गर्नेछौँ,’ उनले भने ।

प्रत्यक्ष तर्फको उम्मेदवारहरूको मनोनयन माग ६ गते हुने र ९ गते उनीहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेकाले त्यसपछि मतपत्र छपाइको काम सुरु गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

‘माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन छ । उहाँहरूको दाबी विरोधको प्रक्रिया पूरा गरेर ९ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ,’ उनले भने, ‘९ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेपछि १० गते सम्भवत मतपत्रको डिजाइन प्राप्त हुन्छ । र, प्रत्यक्षतर्फको मतपत्रको छपाइको काम प्रारम्भ हुन्छ ।’

प्रवक्ता भट्टराईले समानुपातिक तर्फको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह समावेश रहेको पनि बताए । ‘समानुपातिकतर्फको मतपत्रमा जम्मा ५८ वटा निर्वाचन चिह्न रहेका छन् । समानुपातिकतर्फको बन्दसूची पेस गर्ने जम्मा ६४ वटा दलका ५८ वटा चुनाव चिन्हहरू भएको कुरा हामीले यसअघि नै सम्प्रेषण गरिसकेका छौँ,’ उनले भने ।