निकास ननिस्किँदासम्म लागिरहन्छु : शेखर कोइराला

निकास ननिस्किँदासम्म लागिरहन्छु : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा आवाज उठाइरहेको बताएका छन् । आइतबार विशेष महाधिवेशन उद्घाटन संघारमा भिडिओ सन्देश जारी गर्दै पार्टी विभाजन नहोस् भन्नेमा आफू सचेत रहेको बताए ।

उनले भने, ‘मेरो कतिपय शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थेँ। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ । म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्त्वाकाङ्क्षा केही छैन । मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिले आकर्षित गरेन । यस्ता अवसरहरू आए तर मैले रुचि देखाइन । त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन ।’

उनले थप भने, ‘म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु । यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ जो ऊर्जावान र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन् ।’

कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँ रु के हामीसँग भरोसा र विश्वास गर्ने हाम्रा समर्थक, शुभचिन्तक साथीहरू र अन्तर्राष्ट्रिय समुदायको पनि हामी एकताबद्ध भएर अगाडि बढेको हेर्न नचाहेका होलान् र रु सोचौँ हामी ।’

महाधिवेशन प्रतिनिधिहरू पार्टीको धरोहर रहेको भन्दै विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आएको बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टीको विधानको कार्यान्वयन गर्ने सङ्कल्प गर्दै हुनुहुन्छ । त्यस विषयमा समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ । यो कार्यका लागि मैले केही दिनदेखि भगीरथ प्रयास गरिरहेको छु। जबसम्म निकास निस्किँदैन तबसम्म म निरन्तर लागिरहने छु भन्ने प्रण पनि गर्दछु ।’